
आफ्नै कोठामा मृत फेला परेकी लोक दोहोरी गायिका दिलमाया सुनार प्रकरणमा अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आत्महत्या दुरुत्साहन मुद्दामा सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भनिने खीलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले अन्य जानकारी भने खुलाएको छैन ।
सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिवार बिहान आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।
गायिका सुनारले शुक्रवार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । स्टाटस लेखेको भोलिपल्ट उनी मृत अवस्थामा भेटिएकी हुन् ।