
रुख र युक्रेनबीच चलिरहेको द्वन्द्वमा विभिन्न क्षेत्र प्रभावित भएका छन्, जसमध्ये मातृत्व पनि एक हो ।
द मिररमा प्रकाशित रिपोर्टअनुसार ३७ वर्षीया इर्याना लितभिनोवा युक्रेन द्वन्द्वका क्रममा विस्थापित भएर ब्रिटेनमा शरण लिन पुगेकी छन् तर उनका पति सर्गे युक्रेनमै छन् ।
प्राकृतिक गर्भधारण प्रक्रियामा समस्या देखिएपछि इर्याना युक्रेनमै चिकित्सा विधिबाट गर्भवती हुने प्रक्रियामा थिइन् तर द्वन्द्वका कारण उनी विस्थापित भइन् ।
अब उनी ब्रिटेनमा रहे पनि युक्रेनमा रहेका पतिकै वीर्यबाट गर्भवती हुन चाहन्छिन्, त्यही भएर २ हजार ८१६ किलोमिटर टाढा रहेका पतिको वीर्य ब्रिटेनमा झिकाउनुपर्ने अवस्थामा छिन् उनी ।
उनले भनिन्, ‘युक्रेनमा जारी युद्धले मेरो गर्भधारणलाई रोकिरहेको छ । जतिजति समय बित्दै गइरहेको छ, मेरो मातृत्वको सम्भावना त्यतित्यति कम हुँदैछ ।’ तर उनलाई आशा छ, उनी वीर्य झिकाउन सफल हुनेछिन् ।
सन् २०१६ मा उनले बच्चा जन्माएकी थिइन् तर केही समयपछि बच्चाको निधन भएको थियो । उनी फेरि आमा बन्ने प्रयास गरिरहेकी छन् ।