
बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्कीको बजारीकरण गर्ने भएको छ ।
गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर बजारीकरण गर्ने नीति ल्याएको छ ।
नगरपालिकाले ढकायो, बाँको र सिन्किलाई नगरकै पहिचानका रूपमा विकास गरी बजारीकरण गर्ने जनाएको छ । नगर प्रमुख भरत शर्मा गैरेले गलकोटले कोसेलीको रूपमा आगन्तुक पाहुना र पर्यटकलाई सिन्की दिने, विदेशमा भएका आफन्तलाई कोसेली पठाउने गरी बजारीकरणको योजनासहित बजेट तथा कार्यक्रममा समेटेको बताए ।
‘यहाँका केही घरबासले ढकायो, मुला र बाँकोको सिन्कीलाई मुख्य आकर्षक परिकारका रुपमा बनाउँदै आएका छन्, गलकोटमा दरमकोखालाको माछा जतिकै प्रख्यात छ त्यतिकै यहाँको उच्च भागमा पाइने बाँको र ढकायोलाई सिन्किको रुपमा बजारीकरण गर्ने हाम्रो नीति हो,’ उनले भने, ‘स्थानीय महिलाले उत्पादन गरेको सिन्कीलाई हामीले खरिद गरेर मायाको चिनो तथा उपहार तथा कोसेलीका रूपमा बजारीकरण गर्छौं, जसका लागि यो वर्ष बजेटको समेत व्यवस्थापन गरेका छौं ।’
नगरपालिकाले उद्यम विकासमा २६ लाख र लघु उद्यम विकास कार्यक्रममा ३० लाख रुपैयाँ बजेट समेत व्यवस्थापन गरेको छ । नगरपालिकाले नयाँ कृषि, पशुपन्छी फर्म र घरेलु उद्योग स्थापनका लागि २० लाखभन्दा बढी लगानी गर्ने ५० युवाका लागि ५ वर्षसम्मका लागि ब्याजमा ५० प्रतिशत अनुदान दिने नीति ल्याएको छ ।
गलकोटले मात्रै होइन, बागलुङका १० पालिकामध्ये अधिकांश स्थानीय तहले कृषिउपज तथा स्थानीय हस्तकला र घरेलु उत्पादनलाई बजारीकरण गर्ने जिम्मा पालिकाले लिन नीति ल्याएका छन् । १० पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेको पाइएको छ ।
उत्पादन भएका घरेलु वस्तुले बजार नपाएको गुनासोपछि पालिकाले यस्तो नीति ल्याउन थालेका हुन् ।
बागलुङको जेठो पालिका बागलुङ नगरपालिकाले घरेलु उत्पादनको बजारीकरणका लागि कृषि गाडी सञ्चालन गर्ने, घरेलु मदिरा ब्राण्डिङ गर्ने नीति ल्याएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । ‘घरेलु मदिरा फाल्ने, विदेशी मदिरा खाने प्रचलन मौलाउँदो छ, नगरपालिकाले घरेलु मदिरा ब्राण्डिङ गर्ने र बिक्री वितरण गर्न दिने नीति ल्याएको छ, यस्तै अग्र्यानिक कृषिउपजलाई बजार ल्याउनका लागि नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याउने नीति ल्यएको छ,’ उनले भने, ‘ब्राण्ड र लेवलिङ गर्न सके घरेलु मदिरा समेत बिक्री वितरण गर्न पाइन्छ, नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याएपछि गाउँको उत्पादन सर्वसुलभ रूपमा बजारमा ल्याइने व्यवस्था मिलाइने छ ।’
नगरले कृषि गाडी सञ्चालनसँगै दूध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरी रूपमा विकास गर्ने कार्यक्रम अगाडि सारेको छ ।