
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीमाझ विद्युत् सेवा पुग्ने बताएकी छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाई कार्यान्वयन गरिने बताएकी हुन् ।
उनले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको बताइन् । उनले सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनिट दुई रूपैयाँसम्म महसुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करीव ५० प्रतिशतले घटाइएको जानकारी दिइन् ।
उनले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करीब ७०० देखि १००० मेगावाट विद्युत् नेपालको विद्युत प्रणालीमा थपिँदै जाने बताइन् ।
यसरी विद्युत थपिँदा आगामी २ वर्षका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने उनले बताइन् ।