
आयोजक नेक्सस क्रिकेट एकेडेमी यू–१६ नेक्सस कप टी–२० क्रिकेट सिजन–५ मा सोमवार फाइनलमा प्रवेश गरेको छ ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेक्ससले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) लतिलपुरलाई २८ रनले पराजित गर्यो ।
जीएचसीएले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो । मूलपानी क्रिकेट मैदानमा नेक्ससले पूरै २० ओभर खेल्दै अलआउट हुनुअघि ११० रन बनायो ।
नेक्ससका उत्तम थापा मगरले १ चौका र २ छक्का मद्दतमा ४५ बलमा ४४ तथा रोहन साहले २ छक्का सहयोगमा ४७ बलमा ३३ स्कोर गरे । जीएचसीएका अजय यादव र रुपेश यादवले २–२ विकेट लिए ।

जीएचसीए १८.२ ओभरमा ८२ रनमा अलआउट भयो । जीएचसीएका लक्की कठायतले १७ रन बनाए । ‘म्यान अफ द म्याच’ नेक्ससका रोहन साहले ३ विकेट हात पारे ।
उपाधिका लागि नेक्ससले मंगलवार अपन राधेमाई युवा क्लबसँग खेल्नेछ । आइतवार भएको सेमिफाइनलमा राधेमाईले कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीमाथि ९० रनको सहज जीत दर्ता गर्दै फाइनल पुगेको थियो ।