
रुसी सेनाले युक्रेनी शहर क्रेमेनचुगमा सोमवार हवाई आक्रमण गरिएको पुष्टि गरेको छ ।
तर आफूले पश्चिमी हतियारहरूको भण्डारलाई तारो बनाएको रुसको भनाइ छ ।
उक्त आक्रमणका कारण नजिकैको शपिङ मलमा पनि क्ष्ाित पुगेको थियो । त्यसैलाई आधार बनाएर किएभले मलमा रुसी आक्रमण भएको अनि त्यसबाट धेरै सर्वसाधारण मरेको र घाइते भएको बताएको थियो ।
रुसको रक्षा मन्त्रालयका अनुसार, हतियारहरूको भण्डार क्रेडमाश कारखाना नजिक थियो । त्यसको ठीक सामुन्ने आमस्टोर मल छ । हतियार भण्डारमा रहेका हतियार विस्फोट भएर शपिङ सेन्टरमा आगो लागेको रुसी सेनाको दाबी छ ।
रुसले आक्रमण गर्दा मलमा टनाटन मानिस रहेको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् । घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको र ५९ जना घाइते भएको बताइएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले क्रेमेनचुगमा भएको घटना युरोपेली इतिहासको सबभन्दा भयानक आतंकवादी आक्रमणमध्ये एक भनी वर्णन गरेका थिए । उक्त मलले रुसी सेनालाई कुनै जोखिममा नपारेको र त्यसको कुनै रणनीतिक मूल्य नरहेको जेलेन्स्कीले बताए ।
क्रेमेनचुग मध्य युक्रेनमा रहेको शहर हो । राजधानी किएभबाट यो शहर २५० किलोमिटर उत्तरपूर्वमा पर्छ ।