
काठमाडौं ८ साउन–अन्नपूर्ण पोष्ट दैनिकको सम्पादकमा राजाराम गौतम नियुक्त भएका छन् ।
प्रधान सम्पादक युवराज घिमिरेले राजिनामा दिएपछि गौतमलाई व्यवस्थापनले अन्नपूर्ण पोष्टको सम्पादकको जिम्मा दिएको हो ।
गौतमले आइतवारदेखी नै अन्नपूर्ण पोष्टको सम्पादकीय नेतृत्व सम्हालेका छन् । पत्रिकाका अध्यक्ष एवं प्रबन्ध निर्देशक क्याप्टेन रामेश्वर थापाले आइतबार सम्पादक गौतमलाई स्वागत गरेका थिए ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशील गौतम यसअघि अन्नपूर्ण मिडिया गु्रप अन्तरगतको अन्नपूर्ण टुडे साप्ताहिकका सम्पादक थिए । उनले अन्नपूर्ण रेडियोको ‘स्टेशन चिफ’को रुपमा पनि काम गरेका छन् ।
अन्नपूर्णमा आउनुअघि गौतमले कान्तिपुरको विचार पेजको सम्पादक तथा कान्तिपुर गु्रपकै नेपाल म्यागजिनमा लामो समय काम गरेका थिए ।