
चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेंसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् ।
हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रूपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् ।
लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको नदीको बहाव नै परिवर्तन गर्दै काठमाडौंको सिमाना छाडेर भक्तपुर तर्फको जमिन कटान गर्दै आएपछि यहाँको बस्ती जोखिममा परेका स्थानीयले बताएका छन् ।
केही वर्षयता नदीले आफ्नो धार परिवर्तन गर्दै भक्तपुर तर्फको सिमानामा फैलिँदै जमिन कटान गर्न थालेपछि कतिपयको जग्गा नै खोलामा परेको र बस्ती जोखिममा परेको स्थानीयको भनाइ छ ।
नदी आसपासका क्षेत्रका करीब १ दर्जन घर टहरा जोखिममा परेका छन् भने यहाँको कुइँकेल गाउँ समेत जोखिममा परेको स्थानीयले बताएका छन् । चाँगुनारायण–१ दुवाकोट र कागेश्वरी मनोहरा नगरपालिका मूलपानीको सिमाना भएर बग्ने मनोहरा नदीले भक्तपुरतर्फ कटान गरेपछि स्थानीयले नदीको बहाव परिवर्तन गर्न खोज्दा मूलपानीका स्थानीयले अवरोध गरेपछि काठमाडौं र भक्तपुरका २ नगरपालिकाका वासिन्दाबीच विवाद बढेको थियो ।
बस्ती जोखिममा परेपछि काठमाडौं र भक्तपुरका ३ नगरका नगर प्रमुख र वडाध्यक्षले मनोहरा नदीको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
चाँगुनारायणका नगर प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले संयुक्त रूपमा मनोहरा कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । नदीले बस्ती जोखिममा पारेपछि चाँगुनारायणका नगर प्रमुख खत्रीको संयोजनमा ३ वटै नगरपालिकाका प्रमुखले एकसाथ स्थलगत निरीक्षण गरी समस्याको स्थायी समाधान खोज्ने गरी छलफल भएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए ।
नदी कटान क्षेत्रको चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, मध्यपुरथिमिका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, स्थानीय जनप्रतिनिधि, प्राविधिक, स्थानीय प्रशासन र सरोकारवाला पक्षले निरीक्षण गरी स्थायी समाधान खोज्नुपर्ने बताएका थिए ।
मनोहरा खोलाको तटबन्धन निर्माणसहित दिगो व्यवस्थापनका लागि तत्काल संयुक्त रुपमा अवश्यक पलह गर्नेबारे छलफल भएको चाँगुनारायणका प्रमुख खत्रीले जानकारी दिए ।