
सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिकमा प्रदर्शनमा आउने भएको छ ।
बुधवार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक १८ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
पोस्टरमा अभिनेत्री सुरक्षासँगै अभिनेताद्वय नरेन खड्का र विराज विष्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा सुरक्षालाई डोको बोकेकी गाउँले युवतीको चरित्रमा देख्न सकिन्छ । अभिनेता खड्का र बिष्ट पनि गाउँले चरित्रमा प्रस्तुत छन् ।
‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । राजबहादुर सानेको कथा, राजबहादुरसँगै निर्देशक सुनार, निर्मल पौडेल र विराज बिष्टको पटकथा तथा संवाद रहेको चलचित्रको निर्माता टोपेन्द्र बिष्ट हुन् ।
डोल्पा जिल्लामा छायांकन गरिएको चलचित्र नेपाली समाजको मौलिक कथामा निर्माण भएको निर्देशक सुनारले बताएका छन् ।
अभिनेता नरेनले पनि ‘बुलाकी’ आफूले कथा पढ्दै गर्दा मनमा बसेको चलचित्र रहेको उल्लेख गरेका छन् । शिव ढकालको छायांकन रहेको ‘बुलाकी’ चलचित्रमा सम्पादनको जिम्मेवारी अर्जुन जि.सी.ले पाएका छन् ।