१२ साउन २०८३, मंगलबार

लाक्पा शेर्पाको कीर्तिमान : १६ दिनमा ३ पटक मकालु हिमाल आरोहण

लाक्पा शेर्पाको कीर्तिमान : १६ दिनमा ३ पटक मकालु हिमाल आरोहण

हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र ३ पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

संखुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल ८ हजार ४८५ मिटर अग्लो छ । लाक्पाले मकालु हिमाल सन् २०२२ को १२, २० र २८ मेमा सफल आरोहण गरेका हुन् ।

शेर्पाले सोही समयमा चौथो पटकको आरोहण भने खराब मौसमका कारण पूरा गर्न नसकी फर्किएको बताए । 

‘चौथो पटकको आरोहण पूरा गर्न सफल बनाउन ३० मिटर बाँकी छँदा मौसमले साथ दिएन र म फर्किन बाध्य भएँ,’ हिमाल आरोही शेर्पाले भने, ‘यो विश्व कीर्तिमान हो र गिनिजबूकमा नाम रहन्छ भन्ने सोचेको छु ।’

आफूले रेकर्डकै लागि नभई आफ्नो गाउँ र ठाउँ चिनाउने उद्देश्यका साथ हिमाल आरोहण गरेको बताए । 

मकालुवासीकै ट्रेकिङ कम्पनी ‘सेभेन समिट ट्रेक्ज् प्रालिको सहयोगमा १६ दिनमा ३ पटक मकालु हिमाल आरोहण गर्न सहज भएको र सामान्यतया १ पटक त्यो हिमाल आरोहण गर्न १ महिनाभन्दा बढी समय लाग्ने आरोही शेर्पाले बताए ।

हिमाल आरोहणबाट लगातार ख्याती कमाउँदै आएका ३० वर्षीय युवा आरोही शेर्पाले एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन् । शेर्पाले २० वर्षको उमेरदेखि हिमाल आरोहण गर्दै आएका हुन् ।

उनी हालसम्म ८ हजारमाथिका हिमाल १४ पटक पुगिसकेका छन् । उनलाई संखुवासभाका जनताले मकालु लाक्पाको नाम दिएका छन् ।

लाक्पाले यसअघि मकालु २ पटक, सगरमाथा १ पटक, मनास्लु हिमाल २ पटक, ल्होत्से १ पटक आरोहण गरिसकेका छन् । सेभेन समिट ट्रेकिङका फिल्ड म्यानेजर समेत रहेका शेर्पाले विश्वकै टेक्निकल हिमालको रूपमा रहेको माउन्ट आमादब्लमको ६ पटक सफल आरोहण गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्