
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले बिहीवार आफुपक्षीय नेताहरुको बेला बोलाएको छ ।
महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्व बिहिन भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल गर्न भेला बोलाइएको सो समूहका एक नेताले लोकान्तरलाई जानकारी दिए ।
बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा दिउँसो ३ बजे उपत्यकामा उपलव्ध नेताहरूको भेलाले सभापति शेरबहादुर देउवामाथि दवाव बढाउने ती नेताले बताए । महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्दा समेत विभागहरू गठन नगरिएको, भातृ संगठन पदाधिकारी बिहिन बनेको र आफ्नो समूहका नेतालाई जिम्मेवारी नदिइएकोमा कोइराला पक्ष असन्तुष्ट छ ।
शेखरपक्षीय भेलाले गत स्थानीय तह चुनावको समीक्षा गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने या नगर्ने भन्नेबारे पनि निचोड निकाल्ने नेताहरूले बताएका छन् ।
यो समूहका अधिकांश नेताहरू चुनावमा तालमेलको विपक्षमा देखिएका छन् ।
कोइराला पक्षबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा तथा सहमहामन्त्रीमा जीवन परियार विजयी भएका थिए ।