
शहरी क्षेत्रलाई व्यवस्थापन गर्न शुक्लाफाँटा नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली (मेट्रिक एड्रेसिङ सिस्टम) कार्यान्वयनमा ल्याउन लागेको छ ।
नगरपालिका क्षेत्रमा रहेका १० हजार ७२१ घरघुरीमध्ये पहिलो चरणमा ४ हजार ८५० घरघुरीमा मेट्रिक प्रणाली राख्ने कार्य शुरू गरिएको छ ।
एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत ९ लाख ५० हजार खर्चगरी नगरपालिकाको शहरी क्षेत्रमा सो प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्ने कार्य अगाडी बढाइएको हो । घर नम्बरसँगै सोही प्रणाली अन्तर्गत १२३ वटा सडकको नामाकरण गर्ने कार्यका लागि होर्डिङ बोर्ड राख्ने कार्य समेत अगाडि बढाइएको नगरपालिकाका पूर्वाधार विकास तथा व्यवस्थापन शाखा प्रमुख दीपक धामीले बताए ।
‘हाउस नम्बरिङ र रोड इन्फोरमेसन बोर्ड सिस्टम मेट्रिक मापन एकाइमा आधारित भएकाले वैज्ञानिक छ,’ उनले भने, ‘यस प्रणालीअन्तर्गत सडक पहिचान गरेर सडकको शुरू विन्दुबाट नाप गरी कति मिटरमा घरको दैलो पर्ने हो सोही अनुसार नै घर नम्बर दिइन्छ । यसमा दायाँ–बायाँ क्रमशः जोर–विजोर नम्बर दिने गरिन्छ ।’
बाटोको आमुन्ने–सामुन्ने वा दुईतर्फ पर्ने घर बराबर दूरीमा भए दायाँतिर जोडी नम्बर र बायाँतिर बिजोर नम्बर दिइने गरेको शाखा प्रमुख धामीले जानकारी दिए ।