०८ साउन २०८३, शुक्रबार

स्वतन्त्र उम्मेदवारको मापदण्ड- स्नातक उत्तीर्ण हुनुपर्नेदेखि पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्नेसम्म

स्वतन्त्र उम्मेदवारको मापदण्ड- स्नातक उत्तीर्ण हुनुपर्नेदेखि पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्नेसम्म

आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरू भएको छ । 

‘स्वतन्त्र उम्मेदवारी अभियान’ नाम दिइएको उक्त भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले ‘राजनीतिमा शुद्धीकरणः मिसन–१६५’ शीर्षकको अवधारणापत्र पेश गरेका छन् । । 

उनले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी अभियानको तर्फबाट उम्मेदवार बन्न चाहेका लागि १३ वटा मापदण्ड पनि प्रस्ताव गरेका छन् । यसमा उम्मेदवार बन्न स्नातक उत्तीर्ण हुनुपर्नेदेखि पुलिस रिपोर्ट र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्म छन् । 

यी हुन् प्रस्तावित मापदण्ड

१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ । 

२. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ । 

३. सांसद वा मन्त्रीले देश-विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ । 

४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ । 

५. सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ । 

६. उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ । 

७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ ।

८. उम्मेद्वार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनुहुँदैन । जस्तै: निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ । 

९. विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन । 

१०. तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन । 

११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ । 

१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।

१३. सांसद वा मन्त्री बनेर घुस खान्नँ, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिबद्धता जनाउनुपर्नेछ । संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरूमा पनि दलीय भागबण्डको संसदमा खुलेर विरोध गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्