१० साउन २०८३, आइतबार

व्यापार घाटा न्यूनीकरण गर्न बिजुलीको निर्यात : मन्त्री भुसाल

व्यापार घाटा न्यूनीकरण गर्न बिजुलीको निर्यात : मन्त्री भुसाल

मुलुकको व्यापार घाटा दिनानुदिन बढिरहेका बेला सरकारकी एकमन्त्रीले यसलाई न्यूनीकरण गर्ने उपाय सुझाएकी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने उपाय सुझाएकी हुन् । 

ललितपुरमा शनिवार आयोजित कार्यक्रममा मन्त्री भुसालले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताइन् । व्यापार घाटाका कारण असन्तुलित बन्ने गरेको अर्थ व्यवस्थालाई सन्तुलनमा राख्नका लागि बिजुलीको निर्यात गर्न सकिने उनको भनाइ छ ।  

मन्त्री भुसालका अनुसार नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । 

कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युतको उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताइन् । बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्ने र बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्ने उनको भनाइ छ ।

आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने जानकारी दिइन् । विद्युतीकरणका संरचरनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उनले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन सबैलाई आग्रह पनि गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्