
नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।
बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र केही पदाधिकारी पनि सहभागी छन् । बागमती प्रदेशमा पूर्वसहमति अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्व दाबी गरेपछि एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको हो ।
एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बेलामा ६ महिनापछि मुख्यमन्त्री कांग्रेसलाई दिने गोप्य सहमति भएको पत्र केही दिन अघि बाहिरिएको थियो । सोही सहमतिअनुसार कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।
एकीकृत समाजवादीको अहिले बसिरहेको बैठकले सरकारको नेतृत्व के गर्ने भन्नेबारे निक्र्यौल गर्ने बताइएको छ ।