
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आइतवारदेखि शुरु भएको बैठक केहीबेर बसेर स्थगित गरिएको हो ।
बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। आइतवारको बैठकक शुरुमै प्रदेश कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा उनीहरूले स्थायी कमिटी, पोलिटब्यूरो तथा पदाधिकारी चयनको प्रस्ताव राख्न माग गरेका थिए । त्यसपछि बैठकमा उक्त विषयलाई पनि लिखित प्रस्तावका रूपमा अघि सारिएको छ ।
प्रदेश अध्यक्षहरूले रिपोर्टिङको क्रममा स्थायी कमिटी, पोलिटव्यूरो र पदाधिकारी चयनको प्रस्ताव माग गरेपछि बैठकमा उक्त प्रस्ताव प्रस्तुत भएको केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकलाई चासोपूर्वक हेरिएको छ । बैठक यसअघि पटक–पटक स्थगित हुँदै आएको थियो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बैठकमा संगठनसम्बन्धी प्रस्तावमा छलफल हुने बताएका छन् । त्यसबाहेक स्थानीय तह चुनावको समीक्षा, आगामी चुनावी रणनीति र माओवादी घटकहरूबीचको एकताको विषयमा पनि माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।