
रुपन्देहीको बुटवललगायत आसपासका क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा चोरीका ९ वटा मोटरसाइकलसहित १२ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।
पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ का १८ वर्षीय क्यानोन क्षत्री, १९ वर्षीय करण बस्नेत, १८ वर्षीय बरुण कुमाल, १८ वर्षीय आनन्द परियार, १८ वर्षीय नसिम धुनिया, १८ वर्षीय आरएनसिंह ठकुरी, १९ वर्षीय ओसिम पठान रहेका छन् ।
त्यस्तै सोही ठाउँकै १८ वर्षीय शिवम् यादव, १८ वर्षीय लक्ष्मण बिष्ट, गढवा गाउँपालिका–५ का ४४ वर्षीय गोपाल चौधरी, लमही नगरपालिका ३ का २५ वर्षीय घनश्याम चौधरी र राप्ती गाउँपालिका–८ का ३० वर्षीय सुवास चौधरी रहेका छन् ।
उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि सवारी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए । बुटवलमा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष अप्रेशन टोली परिचालन गरेर गिरोह नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।