
महोत्तरीमा धान रोपाइँ धमाधम भइरहेको छ । यही असारको पहिलो हप्तासम्म थोरै मात्र रोपाइँ भएको जिल्लामा पछिल्ला दिन किसानलाई रोपाइँको चटारो परेको छ । कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका अनुसार हालसम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यसपालि असार लागेयता लगातार पानी पर्दै आए पनि त्यसअघि ब्याड राख्न नै ढिलो भएको हुँदा तयार बीउ (बेर्ना) पर्याप्त नहुँदा मध्य असारसम्म रोपाइँ सुस्त देखिएको कार्यालयको ठहर छ । क्रमशः ब्याडको बीउ तयार हुँदै गएपछि आमरुपमा जिल्लाभरि नै रोपाइँले गति लिएको जनाइएको छ ।
जिल्लामा कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टर रहेको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्याङ्क अभिलेखमा उल्लेख छ । त्यसमध्ये ४५ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिदै आइएको कार्यालयले जनाएको छ ।