जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादव अन्ततः मन्त्री बन्न सफल भएका छन्। उनी वन तथा वातावरण मन्त्री बनेका छन्।
पर्साको वीरगञ्ज महानगरपालिका समेत रहेको संसदीय क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव पटक–पटक पार्टीबाट कारबाहीमा परिसकेका छन्। २०७४ पुसमा साविक समाजवादी पार्टी हुँदा नै यादवलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो।
यादव पहिलाेपटक लाटभीयाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’को कार्यक्रममा सहभागी भएपछि कारबाहीमा परेका थिए। यादव उक्त कार्यक्रममा सहभागी भएको भन्दै चिनियाँ दूतावासले असन्तुष्टि व्यक्त गरेको थियो। त्यसलगत्तै पार्टीले यादवलाई स्पष्टीकरण सोधेको थियो।
सांसद यादवले आफूलाई उक्त कार्यक्रमको विषयवस्तुबारे जानकारी नभएको, त्यहाँ पुग्दा मात्र थाहा पाएको, भूलबस कार्यक्रममा सहभागी भएको स्पष्टीकरण दिएका थिए। तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै समाजवादी पार्टीको तत्कालीन कार्यकारिणी समितिको बैठकबाट उनलाई ६ महिनाको लागि निलम्बन गर्नुका साथै पार्टीको पर्सा जिल्ला अध्यक्षबाट समेत हटाइएको थियो।
त्यसपछि उनलाई दोस्रो पटक पनि पार्टीले कारबाही गरेको थियो। जनता समाजवादी पार्टी बनिसकेपछि मन्त्री नबनाएको भन्दै पार्टीविरुद्ध गतिविधि गरेको भन्दै २०७८ मंसिरमा उनलाई पार्टीको केन्द्रीय सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको थियो। मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेका थिए। त्यही कारण उनलाई कारबाही गरिएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा आरम्भ गरेको यादव दोस्रो मधेश आन्दोलनपछि तत्कालीन मधेशी जन अधिकार फोरममा आवद्ध भएका थिए। दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएका यादव २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने विजयी बनेका थिए। निर्वाचित भएपछि सांसदको सपथ ग्रहण कार्यक्रममा आफ्नै परम्परागत भेषमा सजिएर आउँदा पनि उनी एकपटक चर्चामा आएका थिए।