०४ असार २०८३, बिहीबार

कर्णालीमा ७१ प्रतिशत रोपाइँ

कर्णालीमा ७१ प्रतिशत रोपाइँ
फाइल फोटो

कर्णाली प्रदेशमा हालसम्म ७१ प्रतिशत रोपाइँ सकिएको छ ।

पछिल्लो हप्ता मनसुन सक्रिय भएसँगै अधिकांश रोपाइँ सम्पन्न भएका कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत खेतमा रोपाइँ भएको थियो । 

निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले मनसुन ढिला हुनु र कृषकहरू रासायनिक मलको प्रतिक्षामा रहेका कारण यसपटक रोपाइँ ढिला शुरू भएको बताए ।

‘ढिलै भए पनि कृषकले उत्साहजनक रूपले रोपाइँ गरिरहेका छन्, रोप्ने बेला मौसमले साथ दिए पनि बाली स्याहार्ने बेला क्षति पुर्‍याउँदा उत्पादनमा ह्रास आउने गर्दछ,’ उनले भने, ‘रोपाइँ केही दिन ढिला भए पनि यसपछि मौसमले साथ दिएमा उत्पादनमा कमी आउँदैन ।’

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार सबैभन्दा धेरै रोपाइँ जुम्ला, हुम्ला र कम रोपाइँ सुर्खेतमा भएको छ । जुम्लामा ९९, हुम्लामा ९८ तथा सुर्खेतमा ३० प्रतिशत मात्र रोपाइँ भएको छ । डोल्पामा ९५, सल्यानमा ७८, रुकुम पश्चिम र मुगुमा ७५/७५, कालीकोटमा ६०, जाजरकोटमा ५९ र दैलेखमा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

कर्णालीका ५ जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा रासायनिक मल प्रतिबन्ध गरिएको छ भने सुर्खेत, सल्यान, रुकुमपश्चिम, दैलेख र जाजरकोटका कृषक भने रोपाइँका बेला रासायनिक मलकै भर पर्दछन् । कर्णालीमा मकै र कोदोपछि बढी हुने खेतीमा धान पर्दछ । कर्णालीको ४९ हजार ६७७ हेक्टरमा गरिएको खेतीबाट वार्षिक ७९ हजार ५४० मेट्रिकटन धान उत्पादन हुने गरेको तथ्यांक छ ।

salt training

कमेन्ट गर्नुहोस्