१३ असार २०८३, शनिबार
लापरवाहीले विपद्

राजधानीको एउटा सडक जहाँ बाढीले मोटरसाइकल बगाउँछ ! [भिडियो]

असार २०, २०७९
राजधानीको एउटा सडक जहाँ बाढीले मोटरसाइकल बगाउँछ ! [भिडियो]

गत वर्षको असोजमा कपनको सडकमा हिँड्दै गरेका बालक सडकमै आएको बाढीमा बगे । उनको शव १ हप्तापछि हेटौंडामा भेटियो ।

हात समातेर हिँडिरहेको नाति एक्कासि बाढीमा बगेको त्यो त्रासदीपूर्ण क्षण उनकी हजुरआमा महेश्वरी विकले अझै बिर्सन सकेकी छैनन्, न त कपनको सडकमा बाढी आउन नै रोकिएको छ ।

अहिले पनि ठूलो पानी पर्दा सडक नदी बन्छ । सवारी रोकिन्छ । कतिपय बेला सडकमै बनेको खोलामा मोटरसाइकल बग्छन् ।

सडक मर्मतको जिम्मेवारी पाएको ठेकेदारले लापरबाही गर्दा हालसम्म सडकमा ११ जना घाइते भइसकेका छन् । सडक विस्तार गर्न खनेको खाल्डो खोलामा परिणत हुँदा विशेषगरी रातिको समयमा मोटरसाइकल दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

महेश्वरी विकको नाति पनि सोही ठाउँमा बगेको बाढीमा हराएका थिए । ‘ठेकेदारले सडक बेहाल बनाएर छाडेका छन् । खोलामा बाढी बग्छ । त्यही बाढीले मेरो नाति बगायो । अहिलेसम्म ११ जनालाई हामीले उद्धार गरेर अस्पताल पुर्‍याएका छौं,’ विकले भनिन् ।

सडकमा बग्ने बाढीका कारण मोटरसाइकल चालकहरू निरन्तर दुर्घटनामा पर्न थालेपछि स्थानीयले पैसा उठाएर सडकमै बनेको खोलामा पुग्‍नबाट रोक्ने गरी बार–बन्देज गरेका छन् ।

‘धेरै जना दुर्घटनामा परेपछि हामीले पैसा उठाएर बोरामा बालुवा भरेर सिधै खोलामा पुग्ने बाटो बन्द गरेका छौं । ठेकेदारले गर्नुपर्ने काम हामीले गरेका छौं,’ विकले भनिन् ।

त्यति मात्र होइन, खोला वारपार गर्नका लागि फलामे पुल समेत स्थानीयले नै बनाएका छन् । ‘सरकारले ठेकेदारसँग मिलेर हामीलाई दुःख दिएको छ । मोटरसाइकल चालकको त ज्यान नै जोखिममा छ,’ उनले भनिन् ।

सडकमा नियमित सार्वजनिक सवारी चलाइरहेका चालक महेन्द्रराज श्रेष्ठको पीडा पनि उस्तै छ । ‘खाल्डोमा कहिलेकाहीँ माटो हालेर पुरेको देखिन्छ । पानीले एकैछिनमा बगाइहाल्छ । बाढी सडकमा बग्छ र गाडी चलाउनै नसक्ने हुन्छ,’ श्रेष्ठले भने ।

स्थानीय व्यापारी शोभा केसीले पनि सोही स्थानमा दैनिकजसो दुर्घटना देख्ने गरेको बताइन् । ‘सडकको दुरावस्थाले गर्दा हरेक दिनजसो दुर्घटना देख्नुपरेको छ,’ केसीले भनिन् ।

पानी परेपछि कपनको सडकको यात्रा गर्ने अवस्था नै रहँदैन । खोलामा बग्ने बाढीले सवारीसाधन नै बगाउँछ । सडकमा बगेको बाढीले सिर्जना गर्ने बितण्डा कपनमै देख्न पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्