
जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरेको हो ।
फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित शंकास्पद ४ व्यक्ति पक्राउ परेका हुन् ।
सोमवार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् ।
बसमा यात्रु ओहोरदोहोर गर्ने क्षेत्रमा कम ब्याक झोलामा खैरो रङको प्लास्टिक टेपले बाँधेर लुकाइएको अवस्थामा लागूऔषध बरामद भएको थियो ।
सुराकीको आधारमा प्रहरी बस बुर्तिबाङ प्रवेश गरेदेखि नै पछि लागेको थियो । पार्किङमा रहेको बसमा लागूऔषध बरामद भएपछि उनीहरूलाई सुराकीकै आधारमा पक्राउ गरिएको हो । पछिल्लो समय बागलुङको बाटो भएर लागूऔषधको कारोबार गर्नेहरू बढेको सूचना प्रहरीले पाएको थियो ।
बरामद भएको लागूऔषध सुरक्षित राखिएको र आरोप लागेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको रानाले बताए ।