२९ असार २०८३, सोमबार

केन्द्रीय समिति बैठकमा माओवादी नेताले भने : आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ

केन्द्रीय समिति बैठकमा माओवादी नेताले भने : आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ

नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् ।

राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै पार्टीको साङ्गठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने, त्यसो नगरेको खण्डमा पार्टीलाई आगामी दिनमा थप घाटा हुने उनीहरुको भनाइ थियो ।

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले १० पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै छलफलका लागि नौ वटा प्रस्तावसमेत पेस भएको छ ।

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यले खुल्लारूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन् । उनीहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमान्दर भए पनि नेपाली कांग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पु¥याउनसमेत नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन् । यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्नेसमेत उनीहरुको भनाइ छ ।

छलफलमा भाग लिने केन्द्रीय सदस्यलाई अध्यक्ष प्रचण्डले दुई मिनेटको समय दिएको भए पनि विषयवस्तुको गाम्भीर्यताका आधारमा १५ देखि २० मिनेटसम्म पनि धारणा राखेका थिए । खुल्लारूपमा छलफलमा सहभागी हुन पाएको भन्दै बैठकमा बोल्ने अधिकांशले पार्टी बनाउने सङ्कल्पसमेत गरेका थिए ।

आज बैठकमा नेताहरु गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकीसहित ४६ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठक पुनः भोलि ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्