
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये चार जना महिला र पाँच जना पुरुष रहेको खुलेको छ । घटनास्थलमा पुगेको प्रहरीका अनुसार त्यहाँ चार महिला र पाँच पुरुषको शव फेला परेको हो।
मंगलवार विहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानास्थित लुभुघाट नजिकै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङले जानकारी दिए।
घाइते भएका २५ जनालाई उपचारका लागि धुलिखेल पठाइएको छ। त्यसमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौंतर्फ लगिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइते भएकाहरू आफै पनि विभिन्न स्वास्थ्य चौकीहरूमा उपचारका लागि पुगेको हुनसक्ने प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन। दुर्घटनास्थलको बाटो ओरालो रहेको र मोडसमेत रहेकाले चालकले मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाका बारेमा बुझ्ने काम भइरहेको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले जानकारी दिइन्।