
भारतको दिल्ली प्रहरीले फिल्ममेकर लीना मनिमेकलाईविरुद्ध मुद्दा दर्ता गरेको छ । दिल्ली प्रहरीको आईएफएसओ इकाईले लीनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उनको डकुमेन्ट्री ‘काली’ को पोस्टरले धार्मिक भावनामा चोट पुर्याएको आरोप छ ।
उनले आफ्नो डकुमेन्ट्री 'काली' को पोस्टर सार्वजनिक गरेकी थिइन् । त्यसमा 'माता' काली बनेकी अभिनेत्रीले चुरोट पिइरहेको देखाइएको छ ।
पोस्टरमा एक हातमा कालीको त्रिशूल र अर्को हातमा एलजीबीटीक्यूको झण्डा देखाइएको छ, यसले विवादलाई झन् बढाएको छ ।
पोस्टर रिलिजपछि बढ्दो विवाद देखेर लीनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'मसँग गुमाउनका लागि केही छैन । म सधैं निडर भएर बोल्नेहरूका पक्षमा आफ्नो आवाज उठाउनेछु । यदि यसको मूल्य मेरो जीवन हुनेछ भने म त्यो पनि दिन सक्नेछु ।'
लीनाले आफ्नो फिल्म टोरन्टोको आगा खान म्युजियममा ‘रिदम अफ क्यानडा’ कार्यक्रमको एक हिस्सा भएको बताएकी थिइन् ।
विरोधपछि लीनाले तमिलमा पोस्ट सेयर गर्दै लेखेकी छन्, 'यो फिल्म एउटा घटनाको कथा हो जसमा एक साँझ काली प्रकट हुन्छिन् र टोरन्टोको सडकमा घुम्छिन् । यदि तपाईंले फिल्म हेर्नुभयो भने तपाईंले मलाई पक्राउ गरेको ह्यासट्यागको ट्वीटमा होइन कि मलाई मनपर्ने ह्यासट्यागको ट्वीटमा शेयर गर्नुहुनेछ ।'
लीना तमिल नाडुको मधुरैमा जन्मेकी हुन् । उनी क्यानडाबेस्ट फिल्ममेकर हुन् ।