
फिनल्यान्ड र स्विडन दुवैले पश्चिमी सैन्य संगठन नेटोको पूर्णकालीन सदस्य बन्नका लागि थप एक कदम मंगलवार चालेका छन् ।
अमेरिकी नेतृत्वको नेटोका सबै ३० सदस्य मुलुकका राजदूतले उत्तरी युरोपका दुई देशलाई पक्षराष्ट्र बनाउने आलेखमा हस्ताक्षर गरेका छन् ।
नेटोका केन्द्रीय कार्यालय ब्रसेल्समा हस्ताक्षर समारोह राखिएको थियो । त्यहाँ नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तो र उनकी स्विडिश समकक्षी एन लिन्डेलाई स्वागत गरे ।
आलेखमा हस्ताक्षरपछि सबै सदस्य मुलुकका संसद्ले यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ ।
लामो समयको तटस्थता नीति भत्काउँदै स्विडन र फिनल्यान्डले सन् २०२२ को आरम्भतिर नै नेटोमा जोडिने योजना सार्वजनिक गरेका थिए । रुसले गैरनेटो मुलुक युक्रेनविरुद्ध चलाएको सैन्य अभियानका कारण नेटोमा जोडिनु जरूरी रहेको उनीहरूको भनाइ छ ।