
महासचिवमा प्रभावशाली नेताहरूले दाबी गरेपछि पदाधिकारी टुंंगो लगाउन नसकेको नेकपा माओवादी केन्द्रमा तीनवटा विकल्पबारे छलफल शुरू भएको छ ।
मंगलवार र बुधवार बसेको माओवादीका पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकमा महासचिवबारे तीन विकल्पमा छलफल भएको हो ।
दुई प्रभावशाली नेता जनार्दन शर्मा या वर्षमान पुनलाई महासचिव बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहना छ । दुवैले दाबी नछाडेका कारण प्रचण्ड निर्णयमा पुग्न सकेका छैनन् । महासचिवका आकांक्षी दुई जनाले आफूलाई ‘कम्फरटेबल’ हुने व्यक्तिलाई महासचिव बनाउन प्रचण्डलाई सुझाव दिएका छन् ।
वर्षमान र जनार्दनलाई महासचिव बनाउन नसकिएमा तेस्रो व्यक्तिलाई महासचिव बनाउने विकल्पमा पनि छलफल भइरहेको माओवादी स्रोतले बतायो । कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेत या हरिबोल गजुरेललगायतका नेतालाई महासचिव बनाउने विकल्पबारे पनि प्रचण्डले नेताहरूसँग छलफल गरिरहेको स्रोतले बतायो ।
तेस्रो विकल्पको रुपमा महासचिव पद रिक्त राखेर अन्य पदाधिकारी नियुक्त गर्नेबारे छलफल चलिरहेको ती नेताले लोकान्तरलाई बताए । ‘तत्कालका लागि महासचिव पद रिक्त राखेर अन्य पदाधिकारी चयन हुने सम्भावना नै प्रबल छ,’ प्रचण्डनिकट ती नेताले लोकान्तरसँग भने ।
पूर्व माओवादी घटकसँग एकताको पहल भइरहेकोले उनीहरूलाई पार्टी एकताका ल्याउने भन्दै महासचिव पद रिक्त राखेर जाने तयारी रहेको स्रोतले बतायो । बुधवार बस्ने बैठकमा प्रचण्डले यसबारे केही प्रस्ताव राख्ने तयारी गरेका छन् । पदाधिकारी टुंग्याउनु पर्ने केन्द्रीय सदस्यहरूको दबाबका कारण मंगलवार बैठक स्थगित गरेर पूर्व स्थायी कमिटी सदस्यको बैठक राखिएको थियो ।
पूर्व स्थायी कमिटी सदस्यको घटुवा नहुने !
माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी र पोलिटब्युरो कमिटी पनि गठन गरेर जाने तयारी गरेको छ । स्थायी कमिटी गठन गर्दा यसअघिका स्थायी कमिटी सदस्यलाई सोही पदमा राख्ने सहमति भएको माओवादीका अर्का एक नेताले जानकारी दिए ।
‘यसअघि स्थायी कमिटीमा रहेकालाई स्थायी कमिटीमा राख्ने सहमति भएको छ,’ पूर्व स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरसँग भने ।
महासचिव टुंगाउन नसक्दा गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले पदाधिकारी टुंगाउन सकेको थिएन । सोमवारको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै सदस्यको नाम प्रस्ताव गरेका थिए ।