
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर राजीनामा माग गरेको बताएका छन् ।
बजेट निर्माण गर्दा आफूले कुनै त्रुटि नगरेको र तोकिएको आधिकारिक व्यक्तिमार्फत् बजेट निर्माण भएको उनले बताए ।
बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले संसदीय छानबिन समिति गठनमा सहमति गरेको एमालेले राजनीतिक पूर्वाग्रहको पराकाष्ठा देखाएको बताएका हुन् ।
‘पूर्वाग्रहको पराकाष्टा देखियो, सहमतिमा छानबिन समिति गठन भयो । तर प्रतिपक्षको सांसदले सैनिक नेतृत्वले जस्तै दोषी करार गर्ने, यही हो लोकतन्त्र ?,’ मन्त्री शर्माले भने, ‘यो राजनीतिक पूर्वाग्रहको पराकाष्टा हो ।’
मन्त्री शर्माले बजेट निर्माणको क्रममा भएको भनिएको अनियमितता सम्बन्धमा सच्चाइको गहिराइमा पुग्नुपर्ने बताए । ‘संसद् विघटन भयो एकपटक होइन दुईपटक । यो क्रममा धेरै उतारचढाव भए । म हिजो वाम गठबन्धन र एकताको साक्षीको सदस्य थिए, संयोग परिस्थिति भनौँ पाँच दलीय सरकारको अर्थमन्त्री छु,’ शर्माले भने ।
यसअघि प्रतिनिधि सभाले बजेट सम्बन्धमा छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन भएको छ ।