
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर मधेशको आर्थिक समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् ।
लोसपा नेपालका कार्यकारिणी सदस्य डा. सुरेन्द्रकुमार झाको नेतृत्वमा लोकतान्त्रिक वुद्धिजीवी संघका अध्यक्ष प्राध्यापक उदयचन्द्र मिश्र, पार्टीको आर्थिक नीति विभागका सदस्य सन्तोषबाबु लोहनी, व्यापार व्यवसायी विभागका दीपेन्द्र अग्रवालसहितका व्यक्तिहरूले बुधवार गभर्नर अधिकारीलाई भेटेका हुन् ।
'मधेशमा भारतीय रूपैयाँको सटही काउन्टर स्थापना नगरिँदा १६० रूपैयाँको ठाउँमा १७० रूपैयाँमा भारतीय रूपैयाँ खरिद गर्नुपरेको छ, यसले नेपालको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको कुरालाई हामीले ध्यानाकर्षण गराउँदै नेपाल-भारत सीमामा नेपाल राष्ट्र बैंकले सटही काउण्टर स्थापना गर्नुपर्ने माग गर्याैं,' डा. झाले लोकान्तरसँग भने ।
शेयर धितो ऋणको सीमा विस्तार गरिनुपर्ने, ४-१२ को मार्जिन ल्याण्डिङ तथा शेयर धितो ऋणको सीमा खारेज गरिनुपर्ने लोसपाले माग गरेको छ । विदेशी मुद्राको प्रवाह र कर संकलनमा सहयोग पुर्याउनका लागि विदेशी लगानी तथा गैरआवासीय नेपालीलाई पुँजी बजारमा अनुमति दिइनुपर्ने माग गरेका छन् ।
लगानीलाई अल्पकालीन एवं दीर्घकालीन लगानीमा वर्गीकृत गरिनुपर्ने लगायतको माग गरिएको झाले बताए ।