
मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु भएको छ । आज दिउँसो ३ बजे बसेको बैठकमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यले दफाबाररूपमा आ–आफ्ना धारणा राखे ।
आजको बैठकमा प्रदेशसभा सदस्य परमेश्वर साह, सत्यनारायण मण्डल, शिवचन्द्र चौधरी, चमेलीदेवी दास, रानी शर्मा तिवारी, डा रिना यादव, मदनसेन श्रीवास्तव, शारदा थापा, सुरिता साह, बाबुलाल साह, सरोज कुमार सिंह, जयनुल राईन, लगनलाल चौधरी, ज्ञानेन्द्रकुमार यादव, उपेन्द्र महतो, अभिराम शर्मालगायतले बजेटमा गौरवको योजनालाई नभई टुक्रे योजनालाई प्राथमिकता दिएको भन्दै बजेटलाई संशोधन गरी पारित गर्नुपर्नेमा जोड दिए ।