
विराटनगर । बलात्कार आरोपमा धनकुटाको शहीदभूमि गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।
जबरजस्ती करणी गरेको भन्दै युवतीले उजुरी दिएपछि प्रहरीले शनिवार राति राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
उजुरी परेपछि धनकुटा बजार क्षेत्रबाट राति ११ बजे वडाअध्यक्ष राईलाई नियन्त्रणमा लिइएको उनले बताए ।
असार २४ गते होटल लगेर बन्धक बनाएको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएकी थिइन् ।
तेह्रथुमको वसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा बन्धक बनाएर बलात्कार गरेको युवतीले आरोप लगाएकी छन् ।
हिले घुम्न जाँउ भनी वसन्तपुरमा पुर्याएर होटलमा बन्धक बनाएर बलात्कार गरेको प्रहरीमा दिएको उजुरीमा उनले उल्लेख गरेकी छन् ।
युवती हिलेसम्म स्कुटरमा आएकी थिइन् ।
हिलेमा दुवै जना भेट भएपछि तेह्रथुमको लसुनेसम्म घुम्न सँगसँगै गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनास्थल तेह्रथुम भएकाले राईलाई तेह्रथुम पठाउने तयारी भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।
राईले नेपाली कांग्रेसबाट वडाअध्यक्षमा जितेका हुन् ।