चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेको छ ।
उनी आइतवार बिहान काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका थिए ।
चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटमा नेपाल–चीन सम्बन्धका साथै दुई पक्षीय हितका विषयमा छलफल हुने चिनियाँ दूतावास स्रोतले जानकारी दियो ।
उनी जुन पहिलाे साता विदेश विभाग प्रमुख नियुक्त भएका थिए । सीपीसीको विदेश विभाग प्रमुख नियुक्त भएलगत्तै लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेका थिए ।
गत असार ९ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र असार १० मा नेकपा एमालेका अध्यक्ष ओलीसँग कुराकानी गरेका थिए । त्यसपछि भने उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग असार १६ मा भर्चुअल संवाद गरेका थिए ।
उनी विदेश विभाग प्रमुख भएको केही समयमै भएकाे नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ । मुलुक प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको तयारीमा रहेका बेला भएको उनको यो भ्रमणले वामपन्थी दलहरुबीच मोर्चा बन्नसक्ने संभावना रहेको पनि राजनीतिक वृत्तमा छलफल भइरहेको छ ।