
बाँकेका उद्यमी महिलाहरू लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् ।
लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरू विभिन्न संस्थाहरूमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् ।
एउटा लघुवित्तबाट निकालेर अर्कोमा किस्ता तिर्ने गर्नाले उनीहरू कर्जाको दलदलमा फस्दै गएका छन् ।
ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरूको आरोप छ । अध्ययनअनुसार नेपालमा करीब २२ लाख मानिसले कर्जा लिएका छन् ।
त्यसमध्ये ७५ प्रतिशत मानिसहरूले कर्जा समयमा तिर्न सकेका छैनन् । सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरूबाट नै आमनागरिक अहिले दुःख पाइरहेको लघुवित्तमा आबद्ध महिलाहरूको गुनासो छ ।
सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महँगो ब्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका मीना बुढा क्षेत्रीले बताइन् । सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने ब्याज लिने गरेको उनको भनाइ छ ।
पहिला लघुवित्तहरूले सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकस्मिक समस्या आईपरे पनि समस्या नबुझदिने गुनासो गरिन् ।
ऋण लिएर हदैसम्मको ज्यादतिका कारण बस्नसमेत गाह्रो भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ की मनिषा तामाङले बताइन् । ‘केही समय ढिलो भयो भने घरबाट निकाल्न खोज्ने, किड्नी बेच, मरे हुन्छ बीमा छ किन बाँच्ने जस्ता अव्यवहारिक लाञ्छना लगाइ धम्की दिने गर्छन्,’ उनले भनिन् ।
पीडित धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताइन् । लघुवित्तको दबाबले दिनरात सताउने गरेको उनले दुखेसो पोखिन् । ‘कहिले भैँसी लैजान्छौं, कहिले घरमा ताल्चा लगाउने जस्ता धम्की दिइरहन्छन्,’ उनले भनिन्, ‘ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तहरूले दिनदिनै दबाब दिँदा समस्या उत्पन्न भएको छ ।’
त्यस्तै पीडित दरमरीम भुइहारले लघुवित्तका कर्मचारीले समस्या नबुझी अभद्र व्यवहार गर्ने गरेको आरोप लगाइन् । घरको अवस्था सुधार्न र कर्जाको किस्ता तिर्न होटलमा भाँडा धुने काम गरिरहे पनि किस्ताको व्यवस्था गर्न नसकेको उनको गुनासो छ ।
अर्की पीडित महिला उद्यमी सीता शाहीको समस्या पनि अरूको भन्दा फरक छैन । घर खर्च चलाउन र व्यवसाय गर्न श्रीमानलाई वैदेशिक रोजगारका लागि पठाए पनि कतैबाट राम्रो आम्दानी नभएपछि लघुवित्तले समस्या दिन थालेको बताइन् । साथै कोरोना महामारीमा मुलुक लकडाउन भएपछि झनै ऋणमा फसेको उनले बताइन् ।
‘बचाैं बचाऔं र अघि बढौं’ भन्ने मूल नाराका साथ लघुवित्तिय संस्थाहरूविरुद्ध देशव्यापी रुपमा संघर्ष गरिने समिति उपाध्यक्ष फत्तेबहादुर पुन मगरले बताए । लघुवित्तका कारण घरबारविहीन बनाएको र लघुवित्तीय संस्थाबाट धेरै पीडा सहनु परिरहेको उनको भनाइ छ ।
लघुवित्तिय संस्थाविरुद्ध लघुवित्त पीडित महिलाहरूले सरकारसँग लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, आम गरीब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न उनीहरूले सरकारसँग माग राखेका छन् ।