०४ साउन २०८३, सोमबार

मेलम्चीको जस लिने होडमा कांग्रेस–एमाले, सुन्दरीजलमा किसुनजीको सालिक बनाइने

मेलम्चीको जस लिने होडमा कांग्रेस–एमाले, सुन्दरीजलमा किसुनजीको सालिक बनाइने

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत प्रशोधन केन्द्रमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई(किसुनजी)को सालिक बनाइने भएको छ । मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजलमा नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेको भट्टराईको सालिक निर्माण गरिने भएको हो । 

खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमवार भट्टराईको सालिकको शिलान्यास गरेका छन् । उनले मेलम्ची परियोजनाको परिकल्पनाकार किसुनजी नै भएकाले सालिक निर्माण गर्न लागिएको बताए । भट्टराईको सालिक पूर्णकदको हुनेछ । 

२८ वर्षअघि शुरू गरिएको मेलम्ची खानेपानी आयोजनाको उद्घाटन डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । त्यस समय परियोजनाको शुरूवात गर्ने तत्कालीन प्रधानमन्त्री भट्टराईलाई स्मरणसमेत नगरिएको भन्दै कांग्रेसले विरोध जनाएको थियो । ओली सरकार सत्ताबाट बाहिरिएपछि मन्त्री बनेका चौधरीले सुन्दरीजलमा भट्टराईको सालिक नै निर्माण गर्ने योजना बनाए । 

मेलम्ची परियोजना आफूले सफल बनाएको जस लिन नेकपा एमालेले नेतृत्वले प्रयास गरेको थियो । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पूर्ण रूपमा सम्पन्न नभएको आयोजना जस लिनका लागि हतारमा उद्घाटन गरेको भन्दै कांग्रेसले विरोध जनाएको छ । 

कांग्रेसले २८ वर्ष अघि आफ्नो पार्टीका तत्कालीन प्रधानमन्त्री भट्टराईले उक्त परियोजना शुरू गरेको भन्दै जसमा दाबी गरेको थियो । 

गत वर्ष आएको बाढीले मेलम्ची परियोजनामा क्षति पुर्‍याएको छ । हाल मर्मतको कार्य जारी रहेकाले काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् । 

एक करोड रुपैयाँभन्दा बढीको लागत सालिकसँगै पार्क पनि निर्माण गरिने मन्त्री चौधरीले जानकारी दिए । किसुनजीको सालिकसहितको पार्क निर्माण कार्य आगामी मंसिरमा सम्पन्न हुने खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्