
'फ्राइडे रिलिज' अन्तर्गत आज (शुक्रवार)देखि हलमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।
निमेष प्रधान निर्देशित चलचित्र ‘सम्झना बिर्सना’ र राजबहादुर साने निर्देशित चलचित्र ‘सिल्ली फो’ले देशभरका हलमा आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् ।
आकाश श्रेष्ठ र पूजा शर्माको शीर्ष भूमिका रहेको ‘सम्झना बिर्सना’ लभस्टोरी, कमेडी एवं सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र हो ।
१ घण्टा ४२ मिनेट लामो चलचित्रमा आकाश र पूजाका अलावा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राना लगायतको अभिनय छ । चलचित्रलाई अद्धितिय प्रधान र रेबिका प्रधानले निर्माण गरेका हुन् ।
यता केकी अधिकारीको शीर्ष भूमिका रहेको २ घण्टा ३० मिनेट लामो ‘सिल्ली फो’ कमेडी जनारामा निर्माण भएको चलचित्र हो । चलचित्रमा केकीका अलावा धिरेन शाक्य, रबिन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की लगायतको अभिनय छ । चलचित्रका निर्माता मनोज डिके हुन् ।
शुक्रवारदेखि बलिउड चलचित्र ‘शाबास मिठु’ र ‘जुडा होके भी’ पनि प्रदर्शनमा आएका छन् ।