
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बिहीवार एउटा संशोधन पारित गरेर भारतलाई राहत दिएको छ ।
रुससँग भारतले एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किनेकोमा दण्ड दिने काट्सा प्रतिबन्धबाट यस संशोधित प्रस्तावले भारतलाई उन्मुक्ति दिएको छ ।
भारतीय मूलका अमेरिकी सांसद रो खन्नाले पेश गरेको प्रस्तावले बाइडन प्रशासनलाई आफ्नो अधिकार प्रयोग गरी काट्साबाट भारतलाई छुट दिन आग्रह गरे । यसो गर्दा चीन जस्ता आक्रामक शक्तिलाई रोक्न सकिने उनको भनाइ छ ।
भारतले हवाई प्रतिरक्षा प्रणाली एस–४०० रुससँग किनेपछि काट्सा कानूनले अमेरिकालाई नयाँ दिल्लीमाथि प्रतिबन्ध लगाउन अनुमति दिएको थियो । तर यस प्रतिबन्धले भारत अमेरिका सम्बन्ध खलबलिने तथा चीन जस्ता मुलुकले फाइदा उठाउने भनी अमेरिकामा असन्तुष्टि व्यक्त गरिएको थियो ।
खन्नाका अनुसार, अमेरिकी रणनीतिक चासोमा अमेरिका भारत सम्बन्धभन्दा ठूलो कुरा अरू केही छैन ।
‘लोकतन्त्रहरूलाई बलियो बनाउनु जरूरी छ अनि चीनले सीमामा देखाएको आक्रामकता रोक्नु जरूरी छ,’ उनले बताए ।
बिहीवार ध्वनिमतका आधारमा संशोधन प्रस्ताव पारित गरिएको हो । अमेरिकाको रक्षा कानून नेसनल डिफेन्स अथोराइजेसन याक्टमाथि सदनमा छलफल चल्दै गर्दा यो संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।
रुससँग हतियार किन्ने राष्ट्रहरूलाई अमेरिकाले काट्सा कानूनअनुसार प्रतिबन्ध लगाउने गर्छ । टर्की यस प्रतिबन्धको शिकार भइसकेको छ ।