
गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेश गरेको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रवारको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली नागरिक नागरिकता पाउने अवस्थाबाट वञ्चित नहुने र गैरनेपाली नागरिकले नागरिकता नपाओस् भन्ने अवधारणाका साथ विधेयक पेश भएको जानकारी दिए ।
नेपाली नागरिक नागरिकताको अधिकारबाट वञ्चित नहोस् भन्ने सरकारको प्रतिबद्धता रहेको जनाउँदै उनले संविधानलाई आधार मानेर नै विधेयक अगाडि बढाइएको बताए । ‘संविधान परिवर्तनीय छ, त्यसको आफ्नो प्रक्रिया र पद्धति छ, समय आएपछि संविधान पनि परिस्कृत हुँदै जान्छ’, गृहमन्त्री खाणले भने, ‘जबसम्म संविधानमा जे प्रावधान र जस्तो व्यवस्था छ, त्यो व्यवस्थाको आधारशिलामा उभिएर विधेयक ल्याउनुपर्ने हुन्छ, सोही आधारमा ऐन बनाउनुपर्छ ।’
संविधानको भाग २ मा रहेको नागरिकतासम्बन्धी प्रावधानको आधारमा रहेर तथा संविधानका आधारभूत प्रावधानलाई ध्यानमा राखेर विधेयक बनाइएको उनले स्पष्ट पारे । लामो समयदेखि नागरिकताविहीन भएर जीवनयापन, व्यवसाय सञ्चालन, अध्ययन तथा यात्रामा असुविधा व्यहोर्दै आएका नेपालीलाई छिटो नागरिकता दिने उद्देश्यले सरकारले विधेयक प्रस्तुत गरेको गृहमन्त्री खाणले जानकारी दिए ।
सो प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैरनेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुने बताए । रासस