प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुख निर्वाचन गर्न सत्ता गठबन्धनले गरेको हतारोप्रति आशंका व्यक्त गरेको छ । शुक्रवार प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनको क्रममा एमाले सांसदहरूले संसदको कार्यकाल सकिने बेलामा उपसभामुख निर्वाचित गर्नु आश्चर्यको विषय भएको बताएका हुन् ।
विद्या भट्टराईको उम्मेदवारीको समर्थन गर्दै खगराज अधिकारीले सांसदहरूलाई समेत थाहा नदिई उपसभामुखको निर्वाचन गर्न लागिएको आरोप लगाए । ‘सत्तापक्षले नै सभामुख र उपसभामुख दुईवटा पद लिनुहुन्न भनेर भनेकी सदस्य आज उम्मेदवार बन्नु भएको छ’ अधिकारीले भने, ‘सत्तापक्षकै व्यक्ति किन उपसभामुख बन्नु पर्यो ?’
एमाले सचेतक शान्ता चौधरीले संसदको कार्यकाल सकिनै लाग्दा उपसभामुखको निर्वाचन गर्नु गठबन्धनको सफलता भएको भन्दै कटाक्ष गरिन् । ‘प्रतिनिधिसभाको कार्यकाल सकिने बेलामा उपसभामुख निर्वाचन गर्न लागिएको छ, संसदको कार्यकाल एकदिन बाँकी रहेको समयमा गरेको भए गठबन्धनलाई सजिलो हुन्थ्यो होला’ चौधरीले भनिन् ।