
नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जित संविधानको पक्षधरहरुको जित भएको बताएकी छन् । शुक्रवार उपसभामुख पदमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफ्नो जितलाई संविधान पक्षधर र लोकतन्त्रवादीहरुको जित भएको बताएकी हुन् ।
‘संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन हो’ उनले भनिन्, ‘लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भयो र संसदको सबै पदहरुले पूर्णता पाएको छ ।’ उनले संसदमा आफ्नो भूमिका बढेको बताएकी छन् । यसअघि सांसद हुँदा भन्दा उपसभामुखका रुपमा भूमिका बढेको भन्दै उनले संसदमा समन्वयकारी भूमिकामा रहने बताएकी छन् ।
नेपाली कांग्रेसकी सांसद भुसाल पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी थिइन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गरेको थियो । उनले प्रतिनिधिसभामा १४८ सांसदको समर्थन पाएकी थिइन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ १२ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो । उक्त पद रिक्त भएको साढे २ वर्षपछि उपसभामुख पदको निर्वाचन भएको हो ।
उपसभामुख पदमा कांग्रेसकी भुसाल निर्वाचित भएसँगै संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुगेको छ । बहुमत पुगेपछि सरकारलाई विभिन्न संवैधानिक नियुक्तिका लागि बाटो खुलेको छ ।