
स्पेन, १० साउन — गैरआवासीय नेपाली संघ, स्पेनको पाँचौं राष्ट्रिय महाधिवेशनबाट चिन्तामणि सापकोटा विजयी भएका छन् ।

नेतृत्व चयनका लागि शनिवार स्पेनको बिलबाउ र म्याड्रिड तथा आइतवार बार्सिलोनामा भएको मतदानबाट अध्यक्ष पदका बलियो प्रत्याशीका रूपमा हेरिएका सापकोटा निर्वाचित भएका हुन् ।
सापकोटाले पाँच सय १८ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी गौतम गुरुङले चार सय ७१ मत प्राप्त गरेका थिए ।
गुरुङलाई सापकोटाले ४७ मतको अन्तरले हराएर विजयी भएको निर्वाचन समितिका संयोजक हेम शेर्पाले बताए ।
स्पेन एनआरएनएका नवनिर्वाचित अध्यक्ष चिन्तामणि सापकोटा जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष एवम् पर्यटक दूत समेत हुन् ।
अध्ययनको सिलसिलामा जर्मनी प्रवेश गरेका सापकोटाले पछिल्लो दुई दशक युरोप बसाइँमा स्पेनमा नेपालीहरूको दुःखसुखमा साथ दिँदै सामाजिक उत्तरदायित्वपूर्ण भूमिका निर्वाह गर्दै स्पेनवासी नेपालीहरूको साथमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

यस्तै उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याउन सुनिल रानाभाट सफल भएका छन् । रानाभाटले पाँच सय ४३ मत ल्याएका थिए । उनले एनआरएनए स्पेनको पूर्वसचिव पदको भूमिका समेत निर्वाह गरेका थिए ।
उपाध्यक्ष पदका दोस्रा उम्मेदवार पेशल कुमार कोइराला चार सय ५५ मत ल्याएर निर्वाचित भएका छन् ।
कोइरालाले एनआरएनए स्पेनको पूर्वकोषाध्यक्ष पदमा रहँदा सफल कार्यकाल चलाएका थिए ।
सचिव पदमा दिनेश गिरीले पाँच सय ४२ मत प्राप्त गरेर विजयी भएका छन् । दोस्रो सचिव पदका प्रत्याशी लोकबन्धु बस्नेतले चार सय ९० मत ल्याएर विजयी भए ।

यस्तै यसअघि नै दुईवर्षे कार्यकालको लागि एनआरएनए स्पेनको निर्विरोध निर्वाचित हुनेहरूमा महिला उपाध्यक्ष सीतासिंह महर्जन, महासचिवमा कृष्ण प्रसाद भुसाल, कोषाध्यक्षमा विशाल ढुङ्गाना, युवा संयोजकमा रामचन्द्र पौडेल, र महिला संयोजकमा रिता ढुङ्गाना रेग्मी तथा सदस्यहरूमा प्रकाश तिमिल्सिना, टीकाराम कँडेल शास्त्री, संतोष पौडेल, किरण चालीसे, ज्ञानबहादुर बस्नेत, नेहा शर्मा, उमेश पुरी, सानु राउत, सरोज कँडेल, हीरालाल सापकोटा, सरोज कँडेल र पशुपति कँडेल निर्विरोध भइसकेका छन् । अन्तराष्ट्रिय समन्वय समिति सदस्यमा मुक्त बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले लोकान्तरसँग कुरा गर्दै भने, ‘तीन पदका लागि कडा प्रतिस्पर्धामा होमिएका हामी सबैले स्पेनवासी नेपालीहरूको हितमा काम गर्छौं । स्पेनवासी सबैसँग हातेमालो गर्दै सबैको समन्वयमा काम गर्नुपर्ने आजको एनआरएनएको आवश्यकता हो ।’
एनआरएनए स्पेनको सक्रिय सदस्य संख्या एक हजार चार सय ६ रहेपनि निर्वाचन प्रक्रियामा एक हजार ४० जनाले मतदान गरेका थिए ।
यसैक्रममा आइतवार सम्पन्न भएको संघको पाँचौं अधिवेशनलाई युरोप क्षेत्रका उपसंयोजक दावा ग्याल्जे शेपाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । एनआरएनए स्पेनको अन्तर्राष्ट्रिय समन्वयन परिषद्का सदस्य एकराज गिरीको विशेष अतिथिका रूपमा उपस्थिति भएका थिए ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष मुक्तबहादुर गुरुङ्गले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष पेशल कुमार कोइरालाले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने साङ्गठनिक गतिविधि र प्रगति विवरण संघका महासचिव उमेश अधिकारीले प्रस्तुत गरेका थिए । कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।