११ साउन २०८३, सोमबार
ठेकेदारले पाए भुक्तानी

निर्माण व्यवसायीलाई फकाउँदै सरकार, वर्षौंदेखि रोकिएको २८ अर्ब भुक्तानी

साउन २, २०७९
निर्माण व्यवसायीलाई फकाउँदै सरकार, वर्षौंदेखि रोकिएको २८ अर्ब भुक्तानी

सरकारले पछिल्लो समय निर्माण व्यवसायीलाई फकाउनका लागि उनीहरूका माग धमाधम सम्बोधन गरिरहेको छ ।

व्यवसायीको माग पूरा गर्न २० असारमा सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधन गरेको सरकारले वर्षौदेखि रोकिएको भुक्तानी समेत दिएको छ ।

वर्षौंदेखि भुक्तानी नभएका ३५ सय आयोजनामध्ये ३२ सय जति आयोजनाको भुक्तानी भएको निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ । यस्ता आयोजनाका लागि व्यवसायीले करीब २८ अर्ब रुपैयाँ पाएको महासंघको तथ्यांक छ ।

महासंघका अध्यक्ष रवि सिंहले भने, ‘गत आवमा म्याद थप गर्न नभ्याएकाबाहेक धेरैजसो आयोजनाको भुक्तानी भएको छ ।’

संख्याका हिसाबले अब ३ सय जति आयोजनाको मात्रै भुक्तानी बाँकी रहेको सिंहले बताए ।

उनका अनुसार अझै निर्माण व्यवसायीले करीब २० अर्ब रूपैयाँ पाउन बाँकी छ । भुक्तानी हुन बाँकी अधिकांश ठूला आयोजना रहेको उनको भनाइ छ ।

रकामान्तर गर्ने भनेर पनि अन्तिम समयसम्म नहुँदा करीब ५ अर्ब रुपैयाँको भुक्तानी हुन नसकेको पनि सिंहले बताए । यो रकम भने सरकारले छिट्टै भुक्तानी गर्ने उनको अपेक्षा छ ।

सिंहले भने, ‘काम सकेर बिल बनिसकेको रकमको शोधभर्ना नआएको हो ।’ सरकारले बिल बनाएर पनि भुक्तानी नदिएका यस्ता आयोजना ५०/५२ वटा रहेका छन् ।

सरकारले खरिद नियमावली संशोधन त गर्‍यो तर त्यो काम आर्थिक वर्ष सकिन लाग्दा मात्रै भएकाले पनि काम गर्न नभ्याइएको हुँदा यसबाट केही रकम निकासामा ढिला भएको सिंहको भनाइ छ ।

समयमा नै रकम निकासा गरेको भए अझै खर्च बढ्थ्यो भन्ने उनको दाबी छ ।

‘सरकारले विकास निर्माणको कामलाई प्राथमिकता दिएर वैशाखमै खरिद नियमावली संशोधन गरी रकम निकासा गरेको भए सरकारी लक्ष्य पनि पूरा हुन सक्यो । अधिकांश आयोजनाले गति लिन्थे,’ उनले भने ।

सरकारले गत आर्थिक वर्षमा ५७.२३ प्रतिशत पूँजीगत खर्च गरेको छ । सरकारले गत आवमा ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास निर्माणका लागि छुट्याएको यस्तो बजेटमा २ खर्ब १६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला पनि सरकारले क्रोनिक आयोजनालाई प्रदेशमा लगेका कारण धेरैजसो काम नभएको टिप्पणी गरेका छन् । वर्षौंदेखि काम रोकिएका, खर्च हुन नसकेका, बजेट कम भएका, अर्ब बजेट निकासा गरेर करोडमा खर्च हुने प्रकृतिका आयोजनाका कारण भौतिक प्रगति कम देखिने गरेको बुझाइ पनि निरौलाको छ । 

उनले भने, ‘संघीयता कार्यान्वयनसँगै संघबाट प्रदेशमा गएका आयोजनामा समस्या धेरै थिए । तिनै आयोजना अझै पूरा नभएका हुन् । त्यस्ता आयोजनाले बजेट कम पाउने र खर्च पनि नहुने गरेको छ ।’

महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले पनि प्रदेशमा पठाएका केही आयोजना निर्माण पूरा हुने समय निर्धारण भएका तर बजेट विनियोजन नभएको पाइएको उल्लेख गरेको छ ।

४/५ वर्षभित्र निर्माण सक्ने आयोजनालाई यो दुई वर्ष काम गरेपछि तेस्रो वर्ष बजेट नै नराखिएको प्रतिवेदनमा उल्लेख छ, जसका कारण आयोजना पूरा गर्न समस्या भएको महालेखाले औंल्याएको छ । 

सरकारले खरिद नियमावली संशोधन गरेर व्यवसायी मैत्री बनाइदिएको भनिए पनि अझै मूल्यवृद्धिलाई सम्बोधन नगरेको गुनासो निर्माण व्यवसायीले गरेका छन । 

रसिया युक्रेन युद्धसहितका कारण अप्रत्यासित मूल्यबृद्धि भएको र सरकारले दिने बजेट निकासा रोकिँदा समग्र निर्माण व्यवसायीकै काम प्रभावित भएको बुझाइ पनि व्यवसायीको छ ।

सरकारले फागुनमा पेश गरेको बिलको भुक्तानीसमेत असारको अन्तिम साता दिने प्रचलन नै भयो । यस्तो रकम छिटो निकासा गर्ने हो भने सरकारको लक्ष्य पूरा हुने र काम गर्न पनि सहज हुने बुझाइ सिंहको छ ।

निर्माण व्यवसायीले पछिल्लो समय आयोजनाको बीमाको शुल्क बढेका कारण खर्च बढेको गुनासोसमेत गर्न भ्याए । निर्माण व्यावसायी महासंघका अध्यक्ष सिंहले भने, ‘बीमाको शुल्क पछिल्लो समय ५ सय प्रतिशतसम्म बढेको छ । बीमा कम्पनीले नै गरेको कार्टेलिङका कारण बीमा समितिलाई प्रभावित पारेर विकास निर्माणका आयोजनाको लागत बढाइएको हो ।’ 

निर्जीवन बीमा कम्पनीले एकआपसमा मिलेर चलखेल गरेको र न्युनतम मूल्य निर्धारण गर्नुका कारण नै आयोजनाको लागत बढेको तर्क निर्माण व्यवसायीको छ । यसले गर्दा न्युनतम मूल्य तोकिनुभन्दा अगाडिको तुलनामा अहिले बीमा रकम अचाक्ली बढेको उनीहरूको तर्क छ । सरकारले १० लाख रुपैयाँभन्दा माथिका आयोजना सबैमा बीमा अनिवार्य गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्