
लामो खडेरीले बालीनाली नष्ट भएपछि पानी पर्ने विश्वासका साथ पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्याएका छन् ।
सोमवार सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर नजिकैको मन्दिर लगेका हुन् ।
खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासका साथ यस्तो उपाय निकालेका हुन् । खडेरीले अप्ठ्यारोमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा मन्दिर लगिएको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।
‘पहिले–पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन थियो । त्यसपछि समस्या समाधान हुन्थ्यो, अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन्, त्यसैले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगिएको हो,’ उनले भने ।
लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ ।
बाँधेर मन्दिर लगिएका गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, उपाध्यक्ष बासमती चमार, ३ नम्बर वडाका वडाध्यक्ष फिरिंगी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, पूर्व सांसद रामलखन हरिजन, ४ नम्बर वडाका वडाध्यक्ष सुरेश यादव, ५ नम्बर वडाका वडाध्यक्ष लक्ष्मण चौधरी लगायतका जनप्रतिनिधिले मन्दिरमा पूजाअर्चना गरेका छन् ।
स्वच्छ मनले पूजाअर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य गर्नका लागि भगवान् खुशी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाइ छ । जब असार महिनामा लामो समय पानी पर्दैन, तब स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने र मन्दिरमा पूजा गर्ने प्रचलन छ ।
३ दिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिकासहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान् खुशी भएर पानी दिने विश्वास छ । अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा छन् ।
मल नपाएका किसान यतिबेला थप पीडामा परेका छन् । असारको पहिलो हप्ताबाटै रोपाइँ शुरू गरेका किसान आकाशे पानीको भर पर्दा र वैकल्पिक सिँचाइको व्यवस्था नहँुदा धान सुक्न थालेको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले प्रतिहेक्टर ४१ क्वीन्टल धान उत्पादन हुने गरेको र यस वर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाइँ भएको जानकारी दिए ।