
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई पूर्णता दिनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवा इतर समूहले राजधानीमा भेला राखेको छ । नेविसंघको अध्यक्ष पदमा मात्रै सभापति देउवाले मनोनयन गरेर कच्चा काम गरेको उनीहरुको आरोप छ ।
सोमबार वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गमा भेलाको संयोजन गरेकी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले नेपाल विद्यार्थी संघ नेतृत्वबिहीन बनेको भन्दै छिटो भन्दा छिटो पूर्णता दिन आह्वान गरिन् ।
ढकालले अध्यक्ष मात्रैले सिङ्गो संगठनको प्रतिनिधित्व गर्न नसक्ने बताइन् । नेपाल विद्यार्थी संघको सभापति भएर पटक–पटक पार्टी सभापतिका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले नेविसंघको पूर्णतामा जाँगर नदेखाएकोमा दुख व्यक्त गरिन् ।
भेलामा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दिपक भट्टराई, नेविसंघ पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल, सुशील तिमल्सिना, पुजन गन्दर्भ, प्रतिमा भट्ट, महाधिवेशन प्रतिनिधि पूजा फुयाँल, त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य पंकज क्षेत्री, नेविसंघ नेता किशोर गुरुङ, जगत शंकर पौडेल, राजेश्वर कमली,प्रबिण घिमिरे लगायतको उपस्थित थियो ।