१२ साउन २०८३, मंगलबार

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने

पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मत सुधार गर्दा अधिकांश पुराना काठ र करिब ४० प्रतिशत इँटा फेरिन लागिएको हो । गत फागुन १२ मा क्षमापूजा गरी चैत १ देखि मन्दिर जीर्णेद्धारको काम शुरू गरिरहेको देगुतलेजु मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष किरणमान प्रधानले बताए । 

उनले भने, ‘छ तले मन्दिरमा तल भुइँ तलाबाट काठ फेर्दै आउँदा दुई तलासम्मको काठ फेर्ने काम सम्पन्न भयो । बाँकी अब माथि चार तलाको काम शुरू गर्नेछौँँ ।’ सो मन्दिर निर्माणमा भक्तपुरका  कामदार खटिरहेका प्रधानले जानकारी गराए । 

सो मन्दिर निर्माणमा सरकारबाट प्राप्त रु आठ करोड र ललिपतुर महानगरपालिकाले दिएकाे रु दुई करोड गरी कूल रु १० करोड खर्च हुने अनुमान छ । उनले भने, ‘मन्दिरका लागि ४० प्रतिशत नयाँ इँटा किन्नुपर्छ । मन्दिरलाई पुरानो शैलीमा निर्माण गराउन आवश्यक सामग्री प्रयोग गरिनेछ ।’ मन्दिर जीर्णेद्धारको काम थालिएसँगै देगुतलेजु भवानी अर्थात भगवतीलाई अन्यत्रै सारी पूजापाठ भइरहेको छ ।

राजा शिवसिंह मल्लका शासनकालमा गुरुपदवी धारणा गरेका लम्बकर्ण भट्टले कान्तिपुर र ललितपुर दुवै सहरमा देगुतलेजु मन्दिर स्थापना गरेको जनाइएको छ । त्यसैगरी १७४९ सालमा राजा योगनरेन्द्र मल्लले प्रस्तर स्तम्भमाथि आफ्ना दुई रानीसहित आफ्ना प्रतिमा राखेका र विसं १९९० को भूकम्पमा पूर्णरुपमा भत्किएको सो मन्दिर श्री ३ जुद्ध शमशेरले जगैदेखि नयाँ बनाएको जनाइएको छ । 

छत्र शैलीमा निर्माण भएको सो मन्दिर जीर्णेद्धार गर्ने क्रममा हाल मन्दिरबाट झिकिएका टुँडाल, गजूर, तोरण, आदि महत्वपूर्ण वस्तु सुरक्षित स्थानमा राखिएको समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताए । सो मन्दिर जीर्णेद्धारको प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) को जिम्मामा अघि बढेको साइट इञ्जिनियर प्रणाम होराले बताए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्