नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिबीचको विवादका कारण रोकिएको तिलोत्तमा नगरपालिकाको बजेट पारित भएको छ । गएको असार १० गते नगरसभामा प्रस्तुत बजेट मंगलवार सर्वसम्मतिले पारित भएको हो ।
कांग्रेस र एमालेको विवादका कारण तिलोत्तमामा बजेट प्रस्तुत भए पनि झण्डै एक महिनासम्म पारित गर्ने प्रक्रिया अघि बढेको थिएन । सोमवार कांग्रेस र एमालेबीच सहमति भएपछि मंगलवार बसेको नगरसभा बैठकले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, बैठकले आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ पनि पारित गरेको छ ।
कांग्रेस र एमालेबीच न्यायिक समिति गठनमा विवाद भएको थियो । सोही कारण पटक–पटक बोलाइएको नगरसभा बैठक स्थगित हुँदै आएको थियो । गत असार ३१ गते र साउन १ गते बसेको नगरसभा बैठकमा गणपूरक संख्या नपुगेको भन्दै मेयर रामकृष्ण खाँणले स्थगित गरेका थिए । तर, उपप्रमुख जागेश्वरीदेवी चौधरीसहित एमालेका जनप्रतिनिधिहरूले आफूहरू बैठकमा उपस्थित भए पनि हाजिरी गर्न नदिएर बैठक स्थगित गरेको आरोप लगाएका थिए ।
साउन १ गतेको बैठकमा प्रमुख प्रशासकीय अधिकृतले आफूहरूको हाजिर नगराएको भन्दै एमालेका जनप्रतिनिधिले प्रदर्शन गरेका थिए । उनीहरूले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई हलबाट बाहिर निस्कन नदिँदा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले तिलोत्तमा ४ का वडाध्यक्ष हरि क्षेत्रीलाई पौडी पोखरीमा धकेल्दा एमाले थप आक्रोशित भएको थियो ।
उक्त घटनापछि सोमवार एमाले र कांग्रेसबीच भएको छलफलमा प्रमुख प्रशाकीय अधिकृत र वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपी ठगबहादुर केसीलाई कारबाही गर्ने, न्यायिक समितिमा कांग्रेसको तर्फबाट एक जना सदस्य राख्नेलगायतका सहमति भएपछि नगरसभा बैठक अघि बढाइएको हो ।