०५ साउन २०८३, मंगलबार

कांग्रेससँगको गठजोड नर्ककुण्ड हो, त्यताबाट स्वर्ग गइँदैन : योगेश भट्टराई

कांग्रेससँगको गठजोड नर्ककुण्ड हो, त्यताबाट स्वर्ग गइँदैन : योगेश भट्टराई
फाइल फोटो

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन् ।

मंगलवार अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एकतामा आउन आग्रह गरे ।

उनले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए । उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रूपमा छाडिदिएर बिर्सिनुपर्ने बताए । विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उनले अगाडि जानेबारे मात्रै सोच्नुपर्ने बताए ।

भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए । उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भए पनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए । उनले भने, ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । यो बीचको एक–डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रूपमा छोडिदिऊँ । धेरै पछाडि नफर्किऊँ कसले के गर्‍यो भन्ने कुरा । जब कसले के गर्‍यो भन्ने कुरामा हामी जान्छौं, हामी एकअर्कालाई चिथोर्छाैं र घाइते बनाउँछौं । अगाडि कसरी जाने त्यो सोचौं । त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौं कांग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन । एउटा भनाई छ नि ! स्वर्ग जाने हो भने त गोजीमा स्वर्गकै ठेगाना चाहियो । अनि त्यहाँ पुगिन्छ । गोजीमा अर्को ठेगाना बोक्ने ड्राइभिङ अन्ततिर गर्‍यो भने अन्त गइन्छ । आजकाल जीपीएस किन लगाइन्छ भने जीपीएसले ठीक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरू र समाजवादीले जीपीएस लगाउनुपर्‍यो । अब त्यो जीपीएस जिउमा लगाउनुपर्‍यो र फर्किनुपर्‍यो । बाटो फर्किनुपर्‍यो । अनि हामी सँगसँगै हुँदै जाऔं । कति वर्षसम्म सँगसँगै हिँड्ने, नजिकबाट हिँडौं । जुन बेलाबाट हामी एउटै बाटोमा हिँडौंला त्यो बेलाबाट एउटै बाटोमा हिँडौंला । अस्ति अलि छिट्टै एउटा बाटोमा हिँड्न खोज्दा छिटो दुर्घटना भयो । अब अलि छिटो एउटै बाटोमा नहिँडौं न त ठीकै छ । एउटै दिशामा जाऊँ । लेन अलिकति फरक जाउँ न त ! लेन फरक जाऔं, दिशा एउटै गरौं । कुनै एउटा ठाउँमा हुँदाखेरी हाइवेमा लेन मर्ज हुन्छ । कुनै न कुनै ठाउँमा पुगेपछि त त्यो लेन मर्ज हुन्छ नि त ! आजका नेताहरूको पालना भएन भने तपाईं र मेरो पालामा गरौंला न त के फरक पर्‍यो र ? यदि त्यसो नगरीकन राष्ट्रिय शक्ति बन्दैन । राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहियो । जसले यो मुलुकको सिंगो जनमतलाई नेतृत्व गर्नसक्छ ।’

सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताए । उनले कम्युनिस्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरूसँग आँखा जुधाएर बोल्न सक्ने बताए । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीले सबै प्रणाली खाइदिने उनको भनाई छ । 

उनले नेपाली कांग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै बुद्धि, विवेक र नीति नभएको टिप्पणी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्