०७ साउन २०८३, बिहीबार

गठबन्धनभित्र चर्काे विवाद : सत्तारुढ दल माओवादीले नै बहिष्कार गरेपछि बैठक स्थगित

गठबन्धनभित्र चर्काे विवाद : सत्तारुढ दल माओवादीले नै बहिष्कार गरेपछि बैठक स्थगित
फाइल फोटो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाको मंगलवार बसेको बैठक बहिष्कार गरेपछि बैठक स्थगित भएको छ ।

प्रदेश सभाको दशौं अधिवेशनको २६औं बैठकको शुरूमै उठेर नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई पूर्णतया बेवास्ता गरिएको आरोप लगाए ।

‘विगतमा पनि गठबन्धन सरकार थियो । सरकारको शैली, प्रक्रिया र गठबन्धनको निर्णयमा संयोजन हुन्थ्यो । त्यो अहिले गर्न किन भुल्नु भएको हो मुख्यमन्त्रीज्यू ?’ भन्दै उनले बैठकमा प्रश्न गरे ।  

प्रदेशसभा सदस्य शर्माले भने, ‘अघिल्लो सरकारले परिवर्तनका लागि नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने सहिद परिवारका लागि सहिद स्मृति भत्ता, घाइते अपाङ्गता भएका व्यक्तिका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न कार्यविधि बनाइयो र बजेटको पर्याप्त व्यवस्था गरियो तर सरकारले अहिलेसम्म त्यो कार्यान्वयनमा ल्याएन र बजेट फ्रिज भयो ।’ 

संसदीय गतिविधिमा संसदीय दलको सहमतिमा संसदीय समितिका नेतृत्व सहमतिमै टुंग्याइएको तर नेकपा माओवादीको केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व अहिलेसम्म विभिन्न बाहनामा नेतृत्वविहीन बनाइएको उनले जिकिर गरे । उनका अनुसार समितिको नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया बढाएर अन्तिम उम्मेदवारी दर्ता गर्न सचिवालयको टेबुल गएको बेला सचिवालयले माथिको आदेश भनेर रोकेको र आजसम्म त्यसलाई आलटाल गरेर राखिएको छ ।  

संसदीय समितिको बैठकमा कार्यसूची निर्माण, निर्णय प्रक्रिया नियमविपरीत भएको जनाउँदै उनले कतिपय निर्णय प्रक्रियामा असम्बन्धित क्षेत्रबाट हस्तक्षेप भएका कारण शान्ति तथा पुनः स्थापना, पर्वतीय विश्वविद्यालय दलित सशक्तिकरण, सिञ्जा सभ्यता, आमसञ्चार प्रतिष्ठान जस्ता महत्त्वपूर्ण विधेयक कार्यसूचीमै प्रवेश गर्न नसकेको जनाए ।

कमेन्ट गर्नुहोस्