
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् ।
पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए ।
निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्डस्तरमै स्थलगत रिपोर्ट र मूल्यांकन गरेपछि मात्र भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरेको पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए ।
प्रदेश सरकारले भेडाको उत्पादन बढाउन भत्ताको व्यवस्था गरेको हो । १ वर्षभरि भेडा हेर्न जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ने उद्देश्यस्वरूप गोठालो भत्ता दिने गरिएको छ ।
भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम लागू गरिएको पशु सेवा कार्यालयका प्रमुख महतले बताए । ५० देखि माथि भेडा पाल्ने किसानलाई मासिक १ हजार ५०० रुपैयाँका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको छ ।
कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो । रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयमा २८४ किसानले आफ्नो फार्म सूचीकृत गराएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
कार्यक्रम माथिल्लो कर्णालीका जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा गरी ५ जिल्ला प्रदेश सरकारले लागू गरेको छ ।