
प्रतिनिधि सभा बैठक आज (बुधवार) बस्दैछ ।
बैठक आज बिहान ११ बजे प्रतिनिधि सभा हलमा बस्नेछ ।
बुधवार बस्ने बैठकमा विभिन्न कार्यसूचीहरू रहेका छन् ।
बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरू बढेर सुनाउनेछन् ।
यसपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद्(पहिलोसंशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसपछि सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
मन्त्री रेग्मीले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा वन तथा वातावरण मन्त्री प्रदीप यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट’को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता माथि सदनमा छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
छलmफलपछि मन्त्री यादवलले सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।