
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिंह घलान धरौटीमा छुटेका छन् ।
पक्राउ परेको एक सातामै घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको मुद्दामा प्रहरीले ६ दिनमै अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो ।
गत असारमा मकवानपुरमा राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन भन्दै कैलाश गाउँपालिका वडा नम्बर ९ मा रहेको कालिका माविले विद्यार्थीहरू हेटौंडा ल्याएको थियो ।
हेटौंडा– ४ स्थित हुप्राचौरमा खेलकुद प्रतियोगिता सञ्चालन भए पनि विद्यालयले आफ्ना विद्यार्थीहरूलाई हेटौंडा– १ स्थित जरुवाटोलमा रहेको असन गेस्ट हाउसको तेस्रो तलामा राखेको थियो ।
गत असार १८ गते राति १२ः३० बजे छात्राहरू बसेको होटलमै पुगेर वडाध्यक्षले छात्राको संवेदनशील अंगहरूमा छोएको भन्दै असार २४ गते उजुरी परेको थियो ।
त्यसको ४ दिनपछि असार २८ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
घलान वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका निर्वाचित वडा अध्यक्ष हुन् ।
कांग्रेसको कैलाश गाउँपालिका कमिटीले राजनीतिक प्रतिशोधका आधारमा अनर्गल आरोप लगाइएको भन्दै पत्रकार सम्मेलन नै गरेको थियो ।
पीडित किशोरी सेफ हाउसमा संरक्षण लिएर बसिरहेका बेला वडाध्यक्ष धरौटीमा छुटेका हुन् ।
पक्राउ परेको एक सातामै अनुसन्धान सकेर मुद्दा दायर र थुनछेक बहस समेत गरी धरौटीमा रिहा गरिएको छ । पीडित पक्षले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतको विश्वसनीयतामै प्रश्न उठाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले हिरासतमा थुनुवाको चाप बढी भएका कारण छिटो मुद्दा तयार पार्नुपर्ने अवस्था रहेको र प्रक्रियाअनुसार नै मुद्दा सरकारी वकिलको कार्यालयमा पठाइएको दाबी गरे ।
धरौटीमा रिहा भएका वडाध्यक्ष घलानलाई जिल्ला प्रहरी कार्यालय परिसरमै आफन्त र पार्टीका नेता तथा कार्यकर्ताले अवीर तथा खादा लगाएर स्वागत गरेका थिए ।